मेरो सपनाको आकाश
सधैं बाटोमा हिँड्ने मलाई पनि अचम्म लाग्छ,
कसैको हात मेहनतको फल देऊ भन्दै फैलिएको छ,
कसैको हात मेहनतबिनै फल खोज्दै छ।
म सडककी छोरी, कर्तव्य थाहा नभएकी,
सडकका जीवजन्तु, चरा र हावासँग जीवन साटेकी।
सायद ठूलाठूला सिंहासनमा बस्नेहरूलाई पनि
केही थाहा हुँदैन रहेछ।
दिनभरि हाम्रो सडकमा बस्ने,
साँझ सुनौलो महलमा निदाउने,
सरकारी विस्तरामा पल्टिएर
देशलाई बेच्दा कति आउँछ भन्ने सपना देख्ने।
म मेरो देशको झण्डा भेट्दा
छातीमा टाँसेर आफुभन्दा सुरक्षित राख्छु,
तर तिमीहरूको हातमा देश छ,
अझै तिमीहरू टुक्रा-टुक्रा पर्छौ।
धन्य भगवान, तिमीले मुटु हेरेरै
भाग्यरेखा कोर्नु भएछ।
केका लागि भोट माग्छौ तिमी?
कोसँग माग्छौ तिमी?
मलाई देऊ भोट माग्न,
म माग्छु मेरा प्रियजनहरूसँग—
त्यो भुस्याहा कुकुरसँग,
त्यो गाईको बाछोसँग,
त्यो चरासँग, त्यो बादलसँग,
त्यो आकाशसँग।
खुला आँखाले देखेको सपना पूरा हुन्छ रे,
कसैले भन्छन् बिहानीको सपना पनि साँचो हुन्छ रे,
तर मैले विद्यालय जाने सपना
सेकेण्ड-सेकेण्डमा देखेँ,
न त खुला आँखाले देखेको पूरा भयो,
न त बिहानको सपना नै।
सायद सफा विस्तरामा निदाउनेलाई
सपना पूरा हुन्छ होला,
तर जब विस्तरा नै सपना बनेको छ,
त्यसपछि मेरो सपना पूरा कसरी होस्?
यो फोहोरको ओछ्यान,
यो फोहोरको तातो घाम,
बादलले चन्द्रमालाई छेकिदिएझैं
मेरो सुन्दर सपनालाई छेकी दिन्छ।
मेरो सपना त पूरा हुँदैन,
तर सायद,
जो सफा ओछ्यानमा सुत्छन्,
उनीहरूले मेरो देशको सपना देखून्,
के थाहा?
बादलबिनाको चन्द्रमा झैं
त्यो सपना एकदिन चम्केला...
Comments
Post a Comment